काठमाडौ । नेकपा एमाले भित्रको विवाद समाधान नहुँदै माधव नेपाल पक्षका ४ नेता नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री बनाउन माग गर्दै पुगेको खुलेको छ । मन्त्री पद माग्दै बालुवाटार पुगेका नेपाल पक्षका ४ नेतालाई देउवाले हुँदैन भनेर फर्काएका छन् । उनले माधव नेपालको स्वीकृती बिना आफुले एमालेका कसैलाई पनि मन्त्री नबनाउने जवाफ दिएका हुन् ।

नेकपा माओवादीको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घटना भएको संकेत गरेका हुन् । देउवालाई विश्वासको मत दिने एमालेका ४ सांसदले मन्त्री बन्न भन्दै बालुवाटार पुगेका थिए ।

मन्त्री बन्न बालुवाटार पुगेका ती सांसदहरुले ‘सांसद पद गए जाओस्, मन्त्री बन्न’तयार छौं भन्दै देउवा समक्ष पुगेका थिए । तर उनीहरुको प्रस्ताव देउवाले अस्वीकार गरेको प्रचण्डले माओवादी बैठकमा सुनाएका छन् । साउन ३ गते राति माधव नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । ती २२ सांसदहरुले नेपाललाई सरकारमा चाँडो सहभागी हुन पनि दबाब दिँदै आए पनि नेपाल पदको लोभमा सरकारमा जान नहुने अडानमा छन् ।

आइतवार सरकारमा सहभागी हुन भन्दै फकाउन कोटेश्वर स्थीत नेपाल निवास पुगेका प्रचण्डलाई पनि नेपालले सहभागी नहुने जवाफ दिएर पठाएका छन् । उनले एमाले भित्रको विवाद समाधान उन्मुख भएको प्रचण्डलाई जवाफ दिएका थिए । नेपालको यस्तो जवाफ पाएपछि प्रचण्डले मन्त्री छनौटका लागि फेरी अर्को बैठक बस्नुपर्ने भन्दै व्रिफिगं गरेका थिए ।