काठमाडौ । पछिल्लो समय सरकारले सिमित मात्रामा खोप स्थानीय तहलाई उपलब्ध गराएर लक्षित समुहलाई लगाउन भनेको छ । तर स्थानीय निकायका जनप्रतिनिधिहरुले आसे पासेलाई खोप लगाएका छन् । नेता र उनीहरुका आफन्तले खोप धमाधम पाउन थालेपछि अन्यले बिरोध गरेका छन् । पूर्वका धरान, इटहरी, बिराटनगर जस्ता ठाउँबाट खोप अनियमितताका समाचार आएका छन् ।

धरानमा लक्षित समूहभन्दा फरक समूहलाई खोप लगाएपछि उपमहानगरले अनुगमनका लागि भन्दै कर्मचारी खटाएको थियो । तर, अनुगमनमा जाने कर्मचारीलाई धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बूले नराम्रो ब्यवहार गरेका छन् । लिम्बुले ती कर्मचारीको मोबाइल फ्याँकिदिएका छन् । वडाध्यक्ष लिम्बूका विरुद्ध उपमहानगरमा उजुरी परेको छ ।

यसअघि आफ्ना समर्थक र कार्यकर्तालाई मध्यरातमा बोलाएर सुटुक्क विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खोप दिएका थिए । खोप पाउने काँग्रेस निकट मात्रै भएको भन्दै बिरोध भएको थियो । प्रमुख पराजुलीले बुधबार राति ९ बजे विराटनगर ५ कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा बोलाएर आफ्ना समर्थन र कार्यकर्तालाई मात्र भेरोसिल खोप वितरण गरेका थिए ।

टोलका करिब ६० जना समर्थक बोलाएर सुटुक्क खोप दिएको थाहा पाएपछि स्थानीय युवाले प्रमुख पराजुली र उनको समूहलाई स्थानीयले भगाएका थिए । भिडियोमा पराजुलीका साथ नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने र उपाध्यक्ष प्रवीण जोशी समेत रहेको देख्न सकिन्छ । प्रतीकात्मक तस्वीर