काठमाडौ । नेकपा एमालेमा बढ्दै गएको विवादकाबीच माधव नेपाल पक्ष देउवा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल सुरु भएको छ । मंगलवार डल्लुमा नेपाल पक्षका नेताहरुबीच बैठक बसेको थियो । एमालेले कारवाहीका लािग सोधेको स्पष्टिकरण र सरकारमा सहभागीताका विषयमा छलफल भएको बताइएको छ ।

यसै सन्दर्भमा केही मिडियाहरुमा एमाले नेता बामदेव गौतम देउवा सरकारमा सहभागी हुने भन्दै समाचार आएको छ । एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेपछि भएको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका उपाध्यक्ष बामदेव गौतम त्यस यताका अन्य बैठकमा सहभागी भएका छैनन् । उनले कोटेश्वमा माधवकुमार नेपाललाई भेटेका थिए ।

तटस्थ बस्दै आएका उपाध्यक्ष गौतम वरिष्ठ नेता माधवकुमार नेपालतिर झुकाव बढाएका छन् । एमालेले देउवाको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपछि गौतमले त्यसको विरोध समेत गरेका थिए । यस्तै घटनाक्रमलाई लिएर केही मिडियामा गौतमको नेतृत्वमा नेपाल पक्ष देउवा सरकारमा जान लागेको भन्दै समाचार सार्वजनिक भएपछि गौतमले त्यसको खण्डन गरेका छन् ।

मंगलवार विहान सामाजिक सञ्जाल मार्फत गौतमले त्यस्ता समाचारमा कुनै सत्यता नभएको बताएका छन् । उनको सचिवालयको तर्फवाट सार्वजनिक गरिएको भनाई यस्तो छ । विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा क। वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचार प्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उहाँको चरित्र ह र णमा संलग्न अ प रा धी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको ब्यहोरा जानकारी गराउन चाहन्छौं । धन्यवाद । दिपक टमटा स्वकिय सचिब, क बामदेव गौतमको सचिवालय’