काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएर आइतबारै विश्वासको मत लिएका हुन् । विघठित प्रतनिधिसभा पुनस्र्थापित भएपछि बैठक बोलाएको पहिलो दिनमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । देउवाको पक्षमा नेपाल र ओली दुवै समूहका केही सांसदले फ्लोर क्रस गरी मतदान गरे भने राप्रपा र नेमकिपाका एक-एक सांसदले मतदान गरेनन् ।

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । आइतबार राति संसद्मा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् ।

त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद मतदानको समयमा बैठककक्षबाट बाहिरिए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरे ।

फ्लोर क्रस गर्नेहरु माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै पहिलो फ्लोर क्रस हो । यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्ीअ महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए ।