काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवाले नेकपा एमाले फुटाउने नियतले यति छिटै विश्वासको मत लिन लागेको भन्दै नेकपा एमालेको माधव नेपाल समूहमा विवाद देखिएको छ । आइतवार विश्वासको मत लिने देउवाको घोषणासंगै कोटेश्वरमा नेपाल पक्षका सांसदहरुको बैठक बसेको छ । बैठकमा विश्वासको मत दिने र नदिनेबारे छलफल भएको छ ।

छलफलमा केही नेताहरुले एमाले फुटाउने नियतले देउवाले यति छिटै विश्वासको मत लिने निर्णय गरेको भन्दै देउवालाई विश्वासको मत दिन नहुने विचार आएका छन् । केही नेताहरुले सार्वजनिक रुपमै संसद बचाउनकै लागि भएपनि देउवालाई विश्वासको मत दिनुपर्ने धारणा राखेको बेलामा केही नेताहरुले भने विरोध गरको हुन् ।

यसरी बैठकमा दुई मत आएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने छलफल भएको छ । कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भएकाले स्वविवेक प्रयोग गर्ने निर्णयलाई सेफ लेण्डिङका रुपमा प्रयोग गर्न खोेजेका छन् ।

कार्यदलमा रहेका र नरहेका स्थायी कमिटी सदस्यहरूसँग वरिष्ठ नेता नेपालले छलफल गरेका थिए । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले देउवाको एमाले फुटाउने नियत देखिएको विचार राखेको स्रोतले जनाएको छ । . माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता पनि संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको स्पिरिटविपरीत हुने भनेर पछि हटेका छन् ।

तर, माधव नेपालसहित सांसदहरू मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, कल्याणी खड्कालगायतले विश्वासको मत दिने भएका छन् ।