काठमाडौ । शेरवहादुर देउवाले विश्वासको मत लिएसंगै नेकपा एमालेको एकता प्रकृया पनि टुंगीने भएको छ । लामो समय देखी एमालेका दोस्रो पुस्ताका नेता एकता कायम राख्न भन्दै बैठक र छलफलमा जुटेका थिए । आइतवार देउवाले विश्वासको मत लिने घोषणा गरेसंगै कोटेश्वरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा उनी निकट सांसदहरुको आकस्मिक बैठक बस्यो ।

बैठकमा देउवालाई विश्वासको मत दिनुपर्ने कुरा उठेको छ । नेता रामकुमारी झाँक्री लगायतका केही नेताले देउवालाई विश्वासको मत दिने सार्वजनिक अभिब्यक्ति दिएका छन् । यता नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरुले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको छन् ।

शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै पुगेर भेटेको विघटित कार्यदलका नेताहरुले आइतवार नेपाललाई भेटेका हुन् । ओलीले कार्यदलको १० बुँदे सहमति प्रति आफु सकारात्मक भएको भन्दै नेपाललाई पनि सहमति गराउन भनेका थिए । त्यसैले नेताहरु आइतवार विहानै कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए ।

भेटका क्रममा नेता नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए । माधव नेपालसँग भेटेपछि उनले फेसबुकमा लेखेका छन् ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनेत खेर गयो ।’