• मुस्ताङको घरपझोङ –५ ठिनी खोलामा कच्ची काठेपुल तर्नेक्रममाट्रक पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

म्याग्दीबाट मुस्ताङको घरपझोङ–५ स्थित कुछ्प तेरङ्गा गुम्बा भवनका लागि निर्माण सामाग्री लिएर गएको ग १ ख ६८५२ नम्बरको मालवाहक ट्रक दुर्घटना भएको हो ।

जोमसोमदेखि करिब ३ किलोमिटरको दुरीमा पर्ने जोमसोम–ठिनी–धुम्बा भित्रि कच्ची सडकमा क्रममा आइतबार बिहान अन्दाजी बिहान ८स् ३० बजेको समयमा ट्रक दुर्घटना हुँदा रामेछापको गोकुल गंगा गाउँपालिका–१ का ३८ वर्षिय चित्रबहादुर श्रेष्ठ र २६ वर्षकी मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुल भाँचिदा बाग्लुङ ढोरपाटन–५ को अधिकारी चौर बस्ने २२ वर्षीय सुनिल घर्ती मगर, सोही स्थानका २५ वर्षीय लुद्रबहादुर कामी, पर्वत जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा खिजीदेम्बा—७ का २९ वर्षिय दावा शेर्पा सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार ट्रकमा चालकसहित ७ जना सवार रहेको जनाइएको छ ।