एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे । कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे ।

पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५/५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवेदन अनुमोदन गराएका थिए ।

पार्टी जीवन संकटमा परेका बेला दोस्रो तहका नेताहरुको अभियानले कार्यकर्तामा एकताको झिनो आशा बाँकी रहे पनि अध्यक्ष ओली र नेता नेपालबीचको बढ्दो द्ध’न्द्धले स्थिति संलिसकेको छैन ।

एमाले र माओवादी केन्द्र अलग्याउने सर्वोच्चको फैसलापछि एमालेभित्रको द्ध’न्द्ध समाधन गर्न अनेकन प्रयत्न भए । तर एमाले न फुट्न सकेको छ, न जुट्न नै सकेको छ । दोस्रो तहका नेता पार्टी मिलाउन जोडतोडले लागेका छन् तर शीर्ष नेता अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मिल्नेभन्दा टाढिने दिशामा अग्रसर छन् ।

वरिष्ठ नेता नेपाल ओलीसँग मिल्नेभन्दा दिनहुँ जसो सत्तारुढ गठबन्धनसँग छलफलमा व्यस्त छन्। कहिले प्रधानमन्त्री शेरबहादुर देउवा त कहिले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग सरकार गठबन्धनका विषयमा छलफल गरिरहेका छन्। अध्यक्ष ओलीले पनि नेपालसँग मिल्न नसकिने भन्दै बालकोटबाट घोषणा गरिसकेका छन्।

कार्यदल भंग भए पनि कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबीच शनिबार बैठक बसेको थियो। उनीहरू १० बुँदे सहमति कार्यान्वयन गर्न जुटिरहेका थिए। उता नेपाल भने कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनलाई कसरी कायम राख्ने भन्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग छलफल गरिरहेका थिए।

शुक्रबार पनि नेपाल र दाहालबीच भेटवार्ता भएको थियो। प्रधानमन्त्री हुने बित्तिकै देउवा नेपाल निवासमा पुगेका थिए। माधव पक्षका कतिपय नेताले देउवालाई विश्वासको मत दिनेसमेत बताइरहेका छन्। वरिष्ठ नेता नेपालसँग सहमति नभई स्थायी समितिको बैठक नबसाल्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरूले गरका आग्रहलाई अस्विकार गर्दै ओलीले बैठक गरेका थिए। नेपाल पक्षीय नेताहरूको उपस्थिति बिना नै स्थायी समितिले एकताको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदल भंग गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

एमालेको संस्थापन पक्षले आइतबार पुनः स्थायी समितिको बैठक बोलाएको छ भने सोमबार केन्द्रीय समितिको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भन्नेबारे विघटित कार्यदलका नेताहरूबीच छलफल भएको पार्टी सचिव गोकर्ण विष्टले जनाए।