काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले असार २७ गते कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वय भएमा पार्टी जोगिने बताएका छन् ।

शुक्रबार एमालेले विघटन गरिदिएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदलका सदस्यहरुबीच शनिबार सिंहदरबारमा भएको छलफलमा यस्तो बताएका हुन् । उनले पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको र त्यसलाई निरन्तरता दिने जानकारी दिए ।

“हामी सबैको चिन्ता भनेको कम्युनिस्ट आन्दोलनको एकता, एमाले पार्टीलाई एकताबद्ध बनाउने र देशको लोकतान्त्रिक आन्दोलन जो अहिले अलिअलि अन्योल र चिन्ता बढेको देखिएको छ । त्यो लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउने कुरामा उत्प्रेरित भएर छलफलमा बसेका थियौँ । यो छलफललाई निरन्तर अघि बढाउँछौँ,” उनले भने ।

कार्यदलमा भएका सहमतिलाई कार्यान्वयन गर्दा एमाले एकतामा पुग्ने निष्कार्ष निकालेको उनले बताए । त्यसलाई कार्यान्वयन गरेर अघि बढ्ने उनको भनाइ छ ।

कार्यदलले गरेको १० बुँदे सहमतिका आधार बनाएर कसरी पार्टी एकतालाई जोगाउन सकिन्छ भन्ने विषयमा छलफल भएको माधव कुमार नेपाल पक्षीय नेता गोकर्ण विष्टले जानकारी दिए ।

“स्थायी कमिटी सदस्यहरुबीचमा अनौपचारिक भेटघाट हो । कार्यदलले गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टीको एकतालाई जोगाउने सन्दर्भमा अनौपचारिक संवाद गरेका हौँ । हामी सबैको गम्भीर सरोकार भनेको पार्टी एकतालाई जोगाउने हो,” विष्टले भने ।

पार्टी एकतालाई कुनै सर्तमा जोगाउने पक्षमा रहेको सन्देश दिन खोजिएको उनको भनाइ छ ।