काठमाडौँ, २ साउन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथिका नेपाली नागरिकलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाउने बताएको छ। कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्दै जोखिमबाट जोगाउन १८ वर्षमाथिका नागरिकका लागि निःशुल्क खोप लगाउने योजना तयार भइसकेको मन्त्रालयले जानकारी दिएको हो।

यद्धपि, खोप लगाउने मिति भने तोकिएको छैन। मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर यसका लागि आवश्यक पर्ने खोपहरूको व्यवस्थापन भइरहेको उल्लेख गर्नुभएको छ।

मन्त्रालयका अनुसार अहिले भेरोसेल खोप लगाउने वर्गमा ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरू, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरू तोकिएको छ।

यस्तै, सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, खोप अनिवार्य गरेको देशमा जाने नेपालीलाई खोप लगाउने वर्गमा राखिएको छ। मन्त्रालयले चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरूलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुने जनाएको छ।

आफ्नो पालो अनुसार उमेर खुल्ने परिचयपत्र लिएर मात्रै खोप लगाउन जान र अरूको खोप लगाउने पालोमा भिडभाड नगरी खोप अभियानमा सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।