नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बिहीबार तेस्रो दिन हो । यही असार २९ गते मंगलबार प्रधानमन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेका थिए। त्यस यता विभिन्न देशबाट नवनियुक्त प्रधानमन्त्री देउवा लाई बधाई आइरहेको छ । काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरुबाट प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिइएको छ ।

तर, भारतीय समकक्षी नरेन्द्र मोदीले भने हालसम्म प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका छैनन् । पूर्ववर्ती ओली सरकार निकट रहेका भनिएका भारतीय प्रधानमन्त्री मोदीबाट देउवालाई बधाई नआउनुलाई कूटनीतिक क्षेत्रमा चासो साथ हेरिएको छ । यस अघि २०७४ सालमा चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवालाई भारतीय समकक्षी मोदीले टेलिफोनमार्फत बधाई तथा शुभकामना दिएका थिए ।

तर, तर, यसपटक नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मात्रै देउवालाई बधाई दिएका छन्। तर, मोदीले आफ्नै परम्परालाई अस्वीकार गरेर प्रधानमन्त्री देउवालाई बधाई नदिनुमा विभिन्न कोणबाट हेरिन थालिएको छ । मोदीले फोनमार्फत मात्रै होइन सामाजिक सञ्जालमार्फत पनि देउवालाई बधाई तथा शुभकामना दिइएको छैन ।

भारतबाट मात्रै होइन चीनबाट पनि देउवालाई बधाई नआउनुले देउवा सरकारले कूटनीति चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। भारतीय प्रधानमन्त्री मोदी नेपालमा ओलीको निरन्तरता चाहन्थे भन्ने अनुमानलाई पनि अहिले पुष्टि गरेको केही कूटनीतिज्ञको तर्क छ । देउवा सँग मोदी चिढिएको हो कि भन्ने धेरैले अनुमान लगाउन थालेका छन् ।