काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ खुवाउने बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग लफडा परेको घटना सेलाउन नपाउँदै अर्काे निहुँ खोजिएको छ ।

प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीवार नियुक्त गरिएका महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शितलनिवासमा गर्न राष्ट्रपति भण्डारीले निषेध गरेकी छन् ।राष्ट्रपतिबाट नियुक्त गरिने महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहेको छ । तर भण्डारीले देउवाको सिफारिसमा नियुक्त खातीका सन्दर्भमा निहुँ खोजेकी छन् ।

राष्ट्रपति कार्यालयमा शपथका लागि समय माग्दा राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ताको शपथ कार्यक्रम राख्न अनिच्छा देखाएकी स्रोतले जनाएको छ ।

भण्डारीले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको बहाना झिक्दै सर्वोच्च अदालतमै शपथ गराउन जवाफ दिएकी छन्। राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र समेत गरेको छ ।

महान्यायाधिवक्ता नियुक्त भएका खम्मबहादुर खातीले राष्ट्रपति कार्यालयबाट परिपत्र आएपछि सर्वोच्च अदालतमै शपथको तयारी भएको बताएका छन् ।यसअघिका महान्यायधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने परम्परा रहेको छ । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालको शपथ समेत राष्ट्रपति कार्यालयमै प्रधानन्यायाधीशले गराएका थिए ।

राष्ट्रपति कार्यालयले यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको शपथ सर्वोच्च अदालतमै भएको स्मरण गराउँदै शितलनिवासमा महान्यायाधिवक्ता खातीको शपथ गर्न अस्वीकार गरेको जनाइएको छ ।