चितवनको चितवन मेडिकल कलेजमा सफलतापूर्वक दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको छ । गत चैत ८ गते पहिलोपटक राजधानी काठमाडौं बाहिर कलेजोको सफल प्रत्यारोपण गरेको कलेजले असार १८ गते जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाहीमा कलेजो प्रत्यारोपण गरेको हो । कुशे गाउँपालिका वडा नं। ९ जाजरकोटका शाहीलाई उनकी ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दिएकी थिइन् ।

असार १८ गते श्रीमतीको ६० प्रतिशत कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। एक दर्जन बढी चिकित्सक, स्वास्थ्यकर्मीको समूहले करिब १५ घन्टा लगाएर कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए।

चितवन मेडिकल कलेजले दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको हो। यसअघि गत चैत ८ गते धनकुमारी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दिएकी थिइन्। आमालाई कलेजो दिने उषा नियमित काममा फर्किसकेकी छन् भने धनकुमारी स्वास्थ्यलाभ गर्दैछिन्।

कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी कलेजो दान दिने कमलादेवी शाही असार २७ गते हिजो नै डिस्चार्ज भएको र कलेजो लिने भरतविक्रमको स्वास्थ्य अवस्थामा सुधार भैरहेकाले अर्को साता उनलाई समेत डिस्चार्ज गरिने जनाएको छ ।