पोखरा क्षेत्रमा बुधबार दिउँसो भीषण असिनापानी परेको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार प्री मनसुन सुरु भएपछिको यो पहिलो वर्षा हो । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार प्रीमनसुन मार्च १ देखि सुरु हुन्छ र जुन ९ सम्म रहन्छ । प्री मनसुनको अवधि सकिएपछि बल्ल मनसुन सुरु हुन्छ । उनका अनुसार प्र्री मनसुनको अवधिमा वायुमण्डल ‘अनस्टेबल’ हुने हुँदा दिउँसोमा घाम लाग्ने बेलुकीपख पानी पर्ने सम्भावना रहन्छ ।

ढकालका अनुसार प्री मनसुनमा गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने, हावाहुरी चल्ने र वर्षा हुने सम्भावना हुन्छ । यो बेलामा असिना पनि पर्न सक्ने उनले बताए । ‘हावाहुरी, असिनापानी र चट्याङको मौसम हो । हिमाली भेगमा हिउँ पनि पर्न सक्छ,’ढकालले भने, ‘त्यसैले यो बेला सचेत हुनुपर्छ ।’

तराईको भेगमा आ’गलागी हुने र पहाडी भेगमा चट्याङको त्रास हुने उनले बताए । पोखरामा विहीबारको वर्षालाई प्री मनसुनको पहिलो वर्षा भन्न मिल्ने उनले बताए । ‘अबको तीनमहिना पोखरा क्षेत्रमा दिनहुँ पानी पर्ने सम्भावना हुन्छ, यो बेला जोगिनुपर्ने हुन्छ,’ उनले भने । लामो समयदेखिको हुस्सु र तुवाँलो पनि अब हट्न सक्ने उनले बताए ।