काठमाडौ । नेपाल भारत सिमानामा बन्दै गरेको प्रहरी सुरक्षा पोष्टमा आगलागी भएको छ । कैलालीको टीकापुर नगरपालिका–८ खक्रौलामा निर्माण हुँदै गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) भवनमा आगलागी भएको हो । त्यहाँ भवन निर्माणका लागि कामदार पनि थिए ।

उनीहरु बाहिर भएको बेलामा अचानक भवन भित्रवाट ठूलो आवाज आएको आफुहरुले सुनेको कामदारहरुले बताएका छन् । निर्माणाधीन भवन हाल बिओपी रहेको स्थानबाट करिब एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै छ ।

सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भइरहेको थियो ।

भवन निर्माणको काम अन्तिम चरणमा पुगेका बेला अचानक आगलागी भएर लाखौंको क्षती समेत पुगेको छ । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको थियो । आगलागीको कारण खुलेको छैन।