प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी तिव्र पारेका छ न् । प्रतिनिधि सभाको बैठक डाकिएको केही दिनमै उनले विश्वासको मत लिने तयारी थालेका हुन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम देउवाले तयारी थालेका हुन् ।

उनले नेकपा एमालेको माधवकुमार नेपाल पक्षसँग विश्वासको मत लिनेबारे छलफल बढाएका छन् । हिजो कोटेश्वरमा नेता नेपाललाई भेटेका छन् ।

देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिने भएको छ । नेपाल पक्षमा अहिले २३ सांसद छन् । जसमध्ये ८ समानुपातिकतर्फका सांसद हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका सांसदहरुलाई पार्टीबाट निष्काशन गरी सांसद सदस्य पनि नरहने गरी तयारी थालेका छन् ।

कारबाहीको अवस्था आएमा १५ जना सांसद यथावत् रहन सक्छन् । ८ समानुपातिक सांसदबारे भने अन्यौल रहन सक्छ ।

देउवालाई काँग्रेसका ६१, माओवादीका ४९, जसपाको उपेन्द्र यादव समूहको १३ र एमालेका माधव पक्षका २३ गरी १४६ जनाको साथ छ । ८ सांसद नेपाल पक्षबाट घटेमा १३८ हुन आउँछ ।

यो विश्वासको मतका लागि पर्याप्त छ । तर, माधव पक्षका थप ५ सांसद घटेमा स्थिति फरक हुन सक्छ ।

अब सांसद तानातानको अवस्था देखिन सक्छ । विशेषगरी जसपा र एमालेभित्र सांसद तानातानको अवस्था बन्न लागेको छ ।