कर्णाली प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए।

सरकारले अब अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध पारेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।

एमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन।

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारमा सहभागी आफ्ना तीन सांसदलाई मन्त्रीबाट पदमुक्त गर्नुपर्ने माग राखेर करिब एक महिनादेखि संसद् अवरुद्ध गरिरहेको थियो।

एमालेका तीन सांसद अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास, नन्दसिंह बुढा उद्योग पर्यटन, वन तथा वातावरण र कुर्मराज शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन्। मन्त्रीहरु सरकारबाट नबाहिरिएसम्म संसद् चल्न नदिने एमालेको अडान थियो।

गत वैशाख ३ गते प्रकाश ज्वालासहित चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्ऽबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। मुख्यमन्त्रीले वैशाख ४ गते ज्वाला बाहेक तीनजनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

त्यसलगत्तै एमालेले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै चार जनालाई सांसद र एमालेको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। तर जेठ २७ गते सर्वोच्च अदालतले चार जना सांसद पद फर्काइदिएको थियो।