नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो।

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजल/मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढिरहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नुपर्ने निगमले जनाएको छ।