काठमाडौं । प्रधानमन्त्री पद गुमे लगत्तै केपी शर्मा ओलीले पाउँदै आएको सुरक्षा घटाइएको छ । तर उनकै पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षा भने बढाइएको छ । प्रधानमन्त्रीको सपथ लिएका शेरवहादुर देउवाले अति विशिष्ट श्रेणिको सुरक्षा पाएका छन् ।

उनको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । उनी यस अघि देउवा प्रधानमन्त्री बन्दा पनि पिएसओ बनेका थिए । पहिलो पटक देउवा प्रधानमन्त्री पिएसओ बनेका शाहले अहिले पनि सुरक्षाको जिम्मा पाएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीको सुरक्षामा खटिएको टोलीको संख्या मंगलवारवाटै घटाइएको छ । तर एमालेका वरिष्ठ नेता नेपाललाई भने सुरक्षा खतरा देखिएको भन्दै सुरक्षा बढाइएको छ । नेपालकै सहयोगमा देउवा प्रधानमन्त्री बनेका कारण उनी माथि सुरक्षा खतरा बढेको अनुमान गरिएको हो ।

बुधवार ओलीलाई बालुवाटारवाट बालकोट सम्म स्कटिङ गर्दै लगेको युवाको समुहले कोटेश्वर स्थित नेपालको घर घेराउको योजना बनाएको थियो । प्रहरीले उनको घर तर्फ जान रोकेपछि नेपालको पुत्ला जलाइएको छ । माधव नेपाल समूहको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै नेता नेपालमाथि सुरक्षा खतरा बढेको आँकलनसहित सुरक्षा बढाइएको छ ।

स्रोतका अनुसार देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना खटिनेछन् । पूर्वप्रधानमन्त्री ओलीको सुरक्षामा प्रहरी निरीक्षक माधव केसीको नेतृत्वको टोली छ । उनले कानुनी रुपमा पाउने सुरक्षाकर्मी वाहेक थप १५ जना सुरक्षाकर्मी माग गरेको बताइएको छ ।