काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन् । मंगलवार ४ मन्त्री सहित सपथ लिएका प्रधानमन्त्री देउवाले थप मन्त्री थप्ने योजनामा छन् । देउवाको तयारीसंगै स्वास्थ्यमन्त्रालयमा कसलाई ल्याउलान् भन्ने सबैको चासो छ । महामारीको समयमा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै काम छन् ।

यस अघि स्वास्थ्यमन्त्री भइसकेका गगन थापा र अर्का नेता शशांक कोइरालाको नाम अहिले चर्चामा छ । नेपाली कांग्रेसको महाधिवेशन समेत नजिक आएका कारण फेरी सभापति बन्न आफुलाई सघाउ पुग्नेगरी मन्त्री छान्नुपर्ने भएकाले देउवाका लागि सकस छ । कांग्रेस वृत्तमा स्वास्थ्यमा फेरि थापालाई नै मन्त्रीको जिम्मा दिने विषयमा चर्चा भइरहेको छ ।

महाधिवेशन नजिक आएको बेलामा गगनलाई स्वास्थ्यमन्त्री दिएर कृष्णप्रसाद सिटौला समूहलाई आफ्नो पक्षमा पार्ने देउवाको प्रयास पनि हुनसक्ने अनुमान पनि गरिएको छ ।

यता महामन्त्री शशांक कोइरालाले स्वास्थ्यमन्त्री बन्ने चाहना राखेका छन् । अहिले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मा गगन अथवा शशांक मध्ये एकलाई दिनेगरी कांग्रेसभित्र आन्तरिक तयारी रहेको बुझिएको छ । यता, शशांकको सहयोगी भरत तिवारीले भने शशांक् मन्त्री बन्ने भन्दा पनि महाधिवेशनकै तयारीमा रहेको बताएका छन् ।