राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई सर्वोच्चको फैसला बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको जनाएको हो ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको सार्वजनिक भइसकेको भए पनि राष्ट्रपति कार्यालयले आधिकारिक सूचना सार्वजनिक गरेको थिएन।

विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।