काठमाडौं । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् । मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् ।

आफ्ना सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने भएसँगै नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटमा क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा संवाद सुरु भएको छ।

स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालाले आज (मंगलबार) बिहानै वरिष्ठ नेता पौडेललाई फोन गरेर मन्त्रीका लागि नाम प्रस्ताव गरेका हुन्।

फोन संवादमा नेता कोइरालाले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जानुपर्ने र त्यसमा दिलेन्द्र बडु, सुजाता कोइराला, गगन थापा र प्रमोद यादवलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव पौडेलसमक्ष राखेको स्रोतले जनाएको छ।