आज (असार २९) बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्। सर्वाेच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्।

राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

देउवा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि उनले मुलुकको सत्ता चारपटक नेतृत्व गरिसकेका छन्। देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्।

उनले मङ्गलवार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरूबीच कुराकानी भएको कांग्रेस नेता बालकृष्ण खाँडले बताए। अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनः स्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ।

देउवाको निम्तालाई अस्वीकार गर्दै एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीको परिस्थिति अलि फरक भएकाले एमालेको संस्थागत निर्णयअनुसार अघि बढ्ने प्रतिक्रिया दिए । त्यस्तै बैठकमा सहभागी नेताहरुका अनुसार नेता नेपालले जस्तै जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पनि आफ्नो पार्टी भोलि नै सरकारमा सहभागी हुने स्थिति नरहेको बताएका छन् ।

बैठकमा ‘वेइटिङ प्राइमिनिस्टर’ देउवाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पनि मन्त्री बन्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमै सही थप्दै माधव नेपाल र प्रचण्डले पनि पौडेललाई मन्त्री बन्न आग्रह गरेका हुन् ।

माधव नेपाल, उपेन्द्र यादवको जसपा र राष्ट्रिय जनमोर्चाले तत्कालै मन्त्री बन्न अस्वीकार गरेपछि अब काँग्रेस र माओवादीबाट कम्तिमा एक÷एकजना मन्त्री मात्रै राखेर आज देउवाले प्रधानमन्त्रीमा सपथ लिने तयारी भैरहेको छ ।

अदालतले मङ्गलवार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएका सन्दर्भमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गरिने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए। उनले मङ्गलवार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरूबीच कुराकानी भएको बताए