इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोलुखुम्बु घर भएकी पराजुलीले कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।

पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो । थप अनुसन्धानका लागि कुकुर मगाइएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको छ ।

यस्तै विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि उनको शव फेला परेको हो ।

अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।