काठमाडौं –

सत्तारुढ नेकपा एमाले एकतामा हलो हड्काएका पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई वाइपास गर्दै १० बुँदे सहमती भएको छ ।

नेता नेपालले निहुँ माथि निहुँ खोज्न थालेपछि आइतबार निरन्तरको छलफल पश्चात मध्यरातमा कार्यदलले ठोस सहमती गरेको हो ।

नेकपा एमालेका सांसद्हरुले सर्वोच्च अदालतमा दायर भएको रिटबाट आफ्नो हस्ताक्षर फिर्ता लिने भएका छन् ।

आज सर्वोच्च अदालत पुगेर सांसद्हरुले हस्ताक्षर फिर्ता लिन लागेका हुन् ।

एमालेका २३ जना सांसद्ले प्रतिनिधि सभा विघटनको विरोध गर्दै सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेका थिए ।

ती सांसद्हरुले आज हस्ताक्षर फिर्ता लिएको घोषणा गर्ने योजना रहेको छ । तर, माधवकुमार नेपालले भने हस्ताक्षर फिर्ता लिन मान्नुभएको छैन ।

माधव नेपाल सहित दुईतीन जना सांसद्ले हस्ताक्षर फिर्ता नलिने, बाँकीले फिर्ता लिने बताइएको छ ।

एमालेका एक उच्च नेताले भने– ‘आज साथीहरु हस्ताक्षर फिर्ता लिन सर्वोच्च अदालत जानुहुने योजना छ ।

हेरौं, के हुन्छ । राजनीति हो, मिनेट मिनेटमा खेल परिवर्तन हुन्छ ’

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमा आज फैसला दिने भनिएको छ ।

एमालेका २३ मध्येका बहुमत सांसद्ले हस्ताक्षर फिर्ता लिएको अवस्थामा फैसला प्रभावित हुन्छ कि हुँदैन भन्ने अनिश्चित छ ।

केही जानकारहरुका अनुसार निर्णय लेखन कार्य नसकिएकाले संवैधानिक इजलासले आजको फैसला केही दिन पछिका लागि सनर्नसक्ने सम्भावना रहेको छ ।

यता नेपाल पक्षका नेता तथा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले हिजो भएको १० बुँदे सहमतिमा वरिष्ठ नेता माधव कुमार नेपालको पनि सहमति रहेको स्पष्ट पारेका छन् ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सहमति आजैबाट कार्यान्वयन हुनेपनि जनाए ।

हिजो भएको सहमतिमा माधव नेपालको विमति रहेको कुरा बाहिर आएको बेला कार्यदलका नेपालतर्फका संयोजक रावलले उक्त सहमतिमा नेपालको पनि सहमति रहेको दाबी गरे ।

उनले भने,”माधव नेपालको पनि यसमा पूर्ण सहमति छ । मैले नै माधव कमरेडसँग कुरा गरेको छु ।

सहमति कार्यान्वयन हुँदैन कि भनेर आशंका नगरौं । सहमति अब कार्यान्वयन हुन्छ ।”