अविरल वर्षासँगै आएको पहिरोका कारण बिजुलीको पोल ढलेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका अन्तर्गतको एउटा गाउँ नै अहिले अन्धकार भएको छ।

गएको बुधबार अविरल वर्षा सँगै आएको पहिरोका कारण देवचुली–६ कीर्तिपुर जाने सडकमा बिजुलीको पोल ढल्दा बिजुली अवरुद्ध भएको हो ।

नगरपालिकाको दलदलेबाट मुन्डे हुँदै कीर्तिपुर जाने सडक पहिराका कारण अवरुद्ध भएपछि यातायात सञ्जालबाट समेत गाउँ टाढिएको स्थानीवासीले बताएका छन्।

वर्षाका कारण पहिरो गएपछि सडक अवरुद्ध भएको साथै बिजुलीको पोल ढलेपछि गाउँवासी अँध्यारोमा बस्नुपरेको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताउनुभयो। साथै अहिले सञ्चार माध्यमबाट पनि टाढा भइएको बताउनुभयो।

उक्त ठाउँमा पहिरो गएको पाँच दिन भइसक्दा पनि पहिरो नहटेको र यातायात, बिजुली समेत प्रभावित बनेको छ। अहिले उक्त ठाउँमा सडकका कारण दैनिक उपभोग्य सामान समेत आउन सकेको छैन।
पहिरो हटाउने काम शनिबार देखि सुरु गरिए पनि काम सक्न अझै तीन दिन लाग्न सक्ने
वडाध्यक्ष सोतीले बताउनुभयो।