काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित छन् । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आएका छन्। जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उनी एक्लो किसानमा पर्दछन् ।

सुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गर्छन् । यसमा उनले बैंकबाट ऋण लिई रु ६० लाख लगानी गरेका थिए । भाडामा लिएको जग्गावापत वार्षिक रुपमा रानाले रु २० लाख भाडा नै तिर्दै आएको बताए ।

गत वर्ष चार विघा जग्गामा केरा खेती गरेर रानाले रु २० लाखको केरा बिक्री गरेका थिए । यसबाट खर्च कटाई उनलाई खुद रु छ लाख आम्दानी भएको थियो । यस वर्ष १३ विघा जग्गा थप गरी केरा खेतीलाई उनले विस्तार गरेका हुन् । केरा खेती गर्ने जग्गाको क्षेत्रफल बढेसँगै आम्दानी समेत बढ्नेमा उनी ढुक्क देखिन्छन् । कम मिहेनतमै बढी प्रतिफल दिने जी नौ जातको टिस्युकल्चर गरिएको केरा उनले खेतमा लगाएका थिए ।

शुरुमा एक्लैले केरा खेती गर्दै आएकामा हाल भतिजा प्रताप रानालाई समेत उनले साझेदारका रुपमा लिएर केरा खेतीलाई अगाडि बढाएका हुन् । आधुनिक तरीकाले केरा खेतीलाई विस्तार गरेको उनको भनाइ रहेको छ । झण्डै १६ वर्षअघि एक भारतीय किसानबाट केरा खेती गर्ने तरीकाबारे जानकारी लिएपछि पहिलो वर्ष केराका विरुवाहरु पनि भारतबाटै ल्याएर खेती गरेको उनले बताए । चाहे जस्तो आम्दानी लिन सफल भएपछि उत्साहित भएर निरन्तर रुपमा केरा खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएको उनको भनाइ छ ।

गत वर्ष कृषि ज्ञान केन्द्रबाट उनले केरा खेतीका लागि रु एक लाख २० हजार अनुदान रकम समेत प्राप्त भएको थियो । “उन्नत जी नौ जातको केरा खेतमा रोप्न थालेपछि आम्दानी बढ्दै गएको छ” उनले भने, “केरा खेतीबारे तालीम, कृषि औजार र उपकरणको प्रयोगमा जोड दिन थालेपछि लागत खर्चमा समेत निकै कटौती भएको छ ।” गहुँ, धानलगायतका बालीका लागि अनुदानको मलको कोटा निर्धारण गरे जस्तै केरा खेती गर्ने किसानका लागि पनि सरकारले कोटा निर्धारण गर्नुपर्ने उनको सुझाव छ । उनीभन्छन्, “केरा रोप्ने बेलादेखि बाली दिँदासम्म मलको आवश्यकता हुन्छ । बजारमा मल नपाउँदा निकै सास्ती खेप्नु पर्दछ । भारतबाट अवैध रुपमा भित्राइएको रासायनिक मलको गुणस्तर नहँुदा ठगिने गरेका छौँ ।”

भारतीय केरालाई निर्वाध रुपमा भित्राइँदा मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भएको रानाले बताए । “भारतीय केरा सस्तोमै बिक्री हुन्छ । हामी कहाँ मलखाद, सिँचाइ, जोताइ, मजदूरको ज्याला गरी लगत खर्च बढी हुने भएकाले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सहज छैन”, उनले भने । केरा उत्पादन गर्नका लागि १८ महिना लाग्ने गर्दछ । उत्पादकभन्दा बिचौलियाले बढी कमाउने गरेको उनको भनाइ छ ।

डडेल्धुरा, महेन्द्रनगर, धनगढी अत्तरियालगायतका बजारका व्यापारीले नगदमै केरा खरीद गरी घरबाटै लैजाने गरेका छन् । उत्पादित केरा घरबाटै बिक्री हुने गरेकाले बजार खोज्दै जानु पर्ने झन्झट समेत छैन । उनले केरा खेतीका लागि दुई जना स्थायी र ३५ जना अस्थायी९आंशिक० रुपमा काम गर्ने गरी कामदार नियुक्त गरी राखेका छन्।

घरमै टिस्युकल्चर गरिएका जी नौ जातका केराको नर्सरी तयार गरी रानाले आम्दानी गर्दै आएको पनि बताए । नर्सरीमा उत्पादित विरुवा आफ्नै केरा फार्ममा रोप्ने र बाँकी रहेका बिरुवा अरुलाई बिक्री गर्दछन्।

ग्रिन हाउसभित्र रानाले केराका विरुवाको नर्सरी स्थापना गरेका छन् । गत वर्ष ४० हजार बिरुवा तयार गरी बिक्री गरेका रानाले यस वर्ष ६० हजार बिरुवा नर्सरीमा उत्पादन गरेका छन् । उत्पादित विरुवामध्ये ५० हजार बिक्री गरेका छन् । पाँच हजार बिरुवा नर्सरीमा बेच्न बाँकी रहेका छन् । उत्पादित पाँच हजार विरुवा विभिन्न कारणले मरेका छन् ।

“केराका उत्पादित विरुवा रु २० लाखमा बिक्री भएका छन्”, उनले भने, “यसबाट रु चार लाख आम्दानी भएको छ ।” उत्पादित केराका विरुवा शुक्लाफाँटा, बेलौरी, लालझाडी र पुर्नवासका ८० बढी किसानले खरीद गरी लगेका छन् । नर्सरीमा उत्पादित प्रतिबिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ