• काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डबाट एकपटक नराम्रोसँग धोका खाइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पीडित बन्न पुगेका छन् ।
  • २०७४ सालमा देउवासँग सत्ता गठबन्धन गरेर प्रच ण्डले एकाएक धोका दिँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी गठबन्धन गरेका थिए, पछि पार्टी एकता गर्नेगरी । त्यहाँदेखि प्रचण्डसँग झस्किएका देउवा यसपालि पनि प्रचण्डको ट्रयापमा परे ।

प्रचण्डको विश्वास नगर्न देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणाले पनि भन्दै आएकी थिइन् । तर पार्टीभित्रको दबाब र प्रधानमन्त्री पदको लोभमा देउवा प्रचण्डले बनाएको विपक्षी गठबन्धनमा सामेल भए । तर त्यो उनलाई अहिले आएर महंगो परेको छ ।

आखिर कम्युनिस्ट भनेको कम्युनिस्ट नै हो । माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादवसँग मिलेर खुंखार कम्युनिस्ट प्रचण्डले लोकतन्त्रवादी नेता देउवालाई भित्तामै पुर्याइदिएका छन् ।

 

एकातिर माधव नेपालले पार्टीमा बराबरी अधिकार मागेर पावर शेयरिङको बार्गेनिङ गरेका छन् भने अर्कोतिर विपक्षी गठबन्धनमा प्रधानमन्त्री पद चाहियो भनेर बार्गेनिङ गरिरहेको छ । यो पनि प्रचण्डको मिलेमतोमै । एकातिर ओलीलाई अफ्ठेरो पार्ने र अर्कोतिर देउवालाई । अनि फाइदा लिने रणनीतिमा प्रचण्ड र माधव नेपाल अघि बढेका छन् ।

 

यसको पुष्टि त प्रचण्डसहित ‘बृहत कम्युनिष्ट एकता’ का लागि माधवले अध्यक्ष ओलीसँग राखेको प्रस्तावबाटै हुन्छ । यसलाई थप पुष्टि गर्ने अर्को आधार भनेको ‘अदालतको फैसलापछि माधव नेपाललाई प्रधानमन्त्री बनाएर अघि बढौ, जसरी पनि ओलीलाई हटाउँ, ७/८ महिनापछि तपाई प्रधानमन्त्री बन्नुहोला’ भनेर प्रचण्डले देउवालाई गरेको आग्रह हो।

 

यसरी माधव नेपालले प्रचण्डसँग मिलेर तत्काल गठबन्धनको बैठकमा पनि नजाने र दुबै पक्षसँग बार्गेनिङ गर्ने रणनीति लिएका छन् । माधवको हकमा पार्टी विवाद समाधान हुँदै गर्दा फ्रान्सका राजदूतसँगको भेटपछि बिच्किनुले विदेशी प्रभाव पनि रहेको बुझ्न सकिन्छ । आखिर प्रचण्डले विदेशीका लागि कम्फरटेबल सरकार बनाउने भनेकै हुन् ।

 

यसरी माधव नेपाल र प्रचण्डको मिलेमतोबाट ओली र देउवा दुबै अफ्ठेरोमा परेका छन् । ओलीले एमाले जोगाउन आफू हैदसम्म लचिलो हुँदा माधव नेपालले थरीथरीका शर्त थपेर अत्तो थापेको गुनासो विहीवार एक सार्वजनिक कार्यक्रममै गरे ।

 

अर्कोतिर कांग्रेस सभापति देउवाले आफू निकट नेताहरुसँग प्रचण्डले फसाउन खोजेको गुनासो गरिरहेका छन् । महाधिवेशनको मुखमा प्रचण्डले दोहोरो खेल खेलेको भन्दै देउवा आक्रोशित छन् ।

 

प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी देखाएर काँग्रेसलाई बदनाम गराउने र सत्ता कब्जा गर्ने प्रचण्डको रणनीतिलाई सफल पार्न काँग्रेसभित्रैका केही पात्रहरु लागेको कुरालाई प्रचण्ड र माधवकै रवैयाले पनि पुष्टि गरेको छ । दोस्रोपटक धोका खाएका देउवा अब कसरी अगाडि बढ्लान हेर्न बाँकी नै छ ।