काठमाडौं । स्वास्थ्य सेवा तर्फको सचिव पद नियुक्तीका लागि नाम सिफारिस गर्न सिफारिस समितिको बैठक बस्दैछ ।

आज बस्ने सिफारिस समितिको बैठकले स्वास्थ्य सचिवका लागि नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाउने सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिनुभएको छ ।

सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिव हुनु हुनेछ ।

स्वास्थ्य सचिवका लागि प्रमुख विशेषज्ञ र ११ औँ तहबाट ५ वर्ष समायवधि पुगेका व्यक्ति सचिव बन्न सक्ने व्यवस्था छ । स्वास्थ्य मन्त्रालयले पनि १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली पठाएको छ ।

अहिले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य तर्फको सचिव हुने दौडमा १२ औं तहका प्रमुख विशेषज्ञहरु महेन्द्रप्रसाद श्रेष्ठ र डा.रोशन पोखरेल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंह हुनुहुन्छ । वरिष्ठताका आधारमा डा.पोखरेल सचिव बन्ने बलियो सम्भावना छ ।

सामान्य मन्त्रालयका एक अधिकारीका अनुसार अहिलेको ट्रेण्ड हेर्दा सचिव नियुक्तीको प्रक्रृया वरिष्ठताकै आधारमा भइरहेको छ । सिफारिस समितिले पनि १२ औं तहका ३ जनामध्ये नै एकलाई सचिव बनाउन सिफारिस गर्ने तयारी गरेको छ । यद्यपी यसको टुंगा आजको बैठकले गर्ने बताइएको छ ।

तत्कालिन स्वास्थ्य सचिव पुष्पा चौधरी र सरकारबीच विवाद भएपछि सरकारले स्वास्थ्य सेवा तर्फको सचिव पद नै हटाएको थियो । गत असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पदको दरबन्दी स्वीकृत गरेपछि स्वास्थ्य सचिवको नियुक्ती लागि प्रक्रिया अघि बढेको छ ।

मन्त्रिपरिषदबाट स्वास्थ्य सचिवको दरबन्दी थप भएपछि सामान्य प्रशासनले स्वास्थ्य मन्त्रालयसँग कानुनअनुसार योग्यता पुगेको उम्मेदवारको नामावली मागेअनुसार स्वास्थ्यले १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली पठाएको छ ।

स्वास्थ्य मन्त्रालयमा प्राविधिक र प्रशासनतर्फ गरि २ सचिवको दरबन्दी थियो । तर प्राविधिक तर्फको दरबन्दी नै नरहेपछि अहिले प्रशासनतर्फ सचिवले मन्त्रालय चलाइरहनुभएको छ । हाल स्वास्थ्य सचिव लक्ष्मण अर्याल हुनुहुन्छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत ३५ हजारभन्दा बढी कर्मचारी छन् ।

स्वास्थ्यमा डाक्टर तथा स्वास्थ्यकर्मीको दरबन्दी धेरै रहेकाले प्राविधिक तर्फकै सचिव हुनपर्ने माग हुँदै आएको छ । तत्कालिन स्वास्थ्यसचिव डा.चौधरीको राजीनामा २०७६ मा स्वीकृत गरेसँगै स्वास्थ्यतर्फको सचिव पद २०७६ पुस २१ गतेदेखि रिक्त छ ।