हामी नेपाली राजनीतिक कुरा भनेपछि हुरुक्कै हुन्छौँ, तर खासमा राजनीति भने पटक्कै बुझ्दैनौँ । हामीमध्ये अधिकांश कुराकानी गर्दा सत्तामा रहेका नेकपा एमाले र नेपाली कांग्रेसलाई खराब भन्छौँ, तर चुनावका दिन तिनैलाई आँखा चिम्लेर अमूल्य मत हालिदिन्छौँ । जब हामी आफैँले खराब भनिरहेको दललाई मत हाल्छौँ भने असल नतिजाको कामना किन गरिरहेका हुन्छौँ ? यही कारण सुरुको वाक्यमै भनिएको हो– ‘तर, खासमा राजनीति पटक्कै बुझ्दैनौँ ।’

०४६ को परिवर्तनपछिका अधिकांश निर्वाचनले (पहिलो ०४८ बाहेक) कुनै पनि दललाई स्पष्ट बहुमत दिलाउन सकेन । हामी मतदाता दल र तिनका विचारमा विभक्त भयौँ, फरक–फरक राजनीतिक दललाई मत दियौँ । सरकार मिलिजुली बन्यो, त्यसलाई हामीले अस्थिर सरकारको उपमा दियौँ । त्यो उपमा हामी जनताले दिएको होइन, राजनीतिक दल र विशेषगरी सत्तारुढहरुले झुण्ड्याइदिएको विशेषण हो ‘अस्थिर’ सरकार ।

कांग्रेस–कम्युनिस्ट, सबै दलका नेताको मुखबाट हामीलाई स्पष्ट बहुमत दिनोस्, हामी स्थिर सरकार बनाउँछौँ र देश विकास गर्छौं भन्ने वाणी आइरह्यो । हामी जनतालाई पनि अस्थिर सरकार निको लागेन । हामी स्थिर सरकारको खोजीमा लाग्यौँ । हामीलाई सबैभन्दा ठूलो दुश्मन ‘अस्थिर सरकार’ लाग्न थाल्यो । देशमा स्थिर सरकार बनेपछि हाम्रा शदियौँदेखिका सारा दुःख हरण हुने विश्वास जाग्न थाल्यो । र, लामो समयपछि ०७४ सालको आमनिर्वाचनमा हामीले स्थिर सरकारको परिकल्पना गर्दै वामशक्तिका हातमा झण्डै दुईतिहाइ मत ओइर्याइदियौँ ।

स्थिर मात्र होइन, ‘अधिक’ स्थिर सरकार बन्ने बाटो खुल्यो । त्यो सरकारको नेतृत्वमा राजनीतिक परिवर्तनका लागि लामो समय संघर्ष गरेका केपी शर्मा ओली पुगे । ती सरकारका पाइलटले आफ्ना सहायक पाइलट रोजीरोजी चयन गरे, राष्ट्रपति पनि आफ्नै रुचिमा छाने । त्यसबखत वामदललाई मत दिने त उसै खुसी हुने भइहाले, कांग्रेसबाहेक जीवनमा अरु कसैलाई कहिल्यै मत नहालेका मानिस पनि खुसी देखिए । किनकि, विगतमा देश विकासको तगारो रहेको अस्थिर सरकार अब हुने छैन, देशले स्थिर सरकार पाएको छ भनेर त्यस्ता व्यक्ति खुसी भएका थिए । तर, हामी राजनीति नबुझ्नेका निम्ति उनै महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइने भनेजस्तै ‘पोलिटिक्स इज मोर डिफिकल्ट द्यान फिजिक्स’ भइदियो ।

स्थिर सरकार त आयो, तर त्यसले हाम्रा दुःखलाई पनि ‘स्थिर’ नै राखिदियो ! हामी व्यवस्था र संविधानमा खोट खोजिरह्यौँ, व्यवस्था र संविधानका परिपालकका कमजोरीमा आँखा चिम्लिरह्यौँ । उही पुरानो भनाइ पुनरावृत्त हुन्छ यहाँ– ‘दाग अनुहारमा थियो, तर हामी ऐना सफा गरिरह्यौँ’ ।

निर्वाचन जित्नका लागि अघि सारिएको ‘स्थिर’ सरकारको नारा अब भुत्ते बन्न पुग्यो । दशक लामो सशस्त्र संघर्ष गरेर राजनीतिको मूलधारमा आएपछि एमालेसँग जोडिन पुगेको माओवादी पुनः अलग भयो । भन्दै आइएको स्थिर सरकार भत्कियो । दुईतिहाइको सरकारलाई सत्ता टिकाउन अरु दलको सहयोग आवश्यक पर्न गयो । राजनीतिको बजारमा ‘चटक’ देखाउन सिपालु केपी शर्मा ओलीले आफ्नो सत्ता अकण्टक पार्न अनेक दाउ लगाउन थाले । आफ्नै दलभित्रका नेताहरुलाई पाखा लगाउँदै अन्य दललाई सत्तामा सयर गराउन खोजे, तर त्यसलाई सर्वोच्च अदालतले मान्यता दिएन ।

ओलीको गलत कार्यशैलीका कारण एमाले कमजोर बनेको आरोप लगाउँदै भड्किएका माधवकुमार नेपाल समूहको विगतको क्रियाकलाप पनि जनहितकारी नरहेको हामी पाएदेखि चौबीसै घण्टा राजनीतिक गफ गर्न सक्ने नेपालीलाई थाहा नहुने कुरै भएन । हिजोको आरोप जस्तोसुकै होस्, विमति जुनसुकै वैचारिक–सैद्धान्तिक रहेको होस्, ओली–माधवलाई अहिले मिलेको देखाउनुपर्ने बाध्यता आइलागेको छ । किनकि, अब आमनिर्वाचन सँघारैमा आइसकेको छ । फेरि हामी राजनीति पटक्कै नबुझ्ने जनतासामु अर्को कुनै ‘नयाँ वा धुलोमैलो भएको नारालाई पुछपाछ गरेर’ पस्कनु जो छ । त्यसका निम्ति पनि ओली–माधव समूह मिलेको देखाउने उद्देश्यले अनेक प्रयत्न गर्दै आएका छन् ।

बुधबार राजधानीको पाँचतारे होटेल मेरियटमा यी सर्वहारा सिद्धान्त बोकेका दुई विशाल कम्युनिस्ट नेताले केही महिनापछि भेट गरे । हामी जनता सडकमा बसेर त्यो दृश्य बडो चाखपूर्वक हेरिरह्यौँ–सुनिरह्यौँ । ‘हामी अब मिल्दै छौँ है’ भन्ने सन्देश दिन खोजे, तिनले । हामीमध्ये कतिपय अहिले पनि यी मिलू्न् भन्ने चाहना राख्छौँ, किनकि अझै पनि हामी देश विकासको मूल शत्रु अस्थिर सरकार मानिरहेका छौँ ।

यसै भन्थ्यौँ हामी– ०४८ ताका पनि । र, नेपाली कांग्रेसका तत्कालीन मुखिया गिरिजाप्रसाद कोइराला पनि त्यसै भन्थे । अहिले एमाले मुखिया केपी शर्मा ओलीले जस्तै । कांग्रेसको एकमना सरकार थियो, तर तिनै कोइरालाले मध्यावधिमा देशलाई होमिदिए । मुखले स्थिर सरकार मागे, मनले अर्कै चाहे । अहिले ठ्याक्कै त्यही सिको गरेर ओलीले देशलाई मध्यावधि निर्वाचन आवश्यक रहेको ठहर गर्दै संसद् विघटन गरिदिएका हुन् । कोइरालाका हातमा बहुमत थियो, तर ओलीसँग त दुईतिहाइ नै थियो । त्योभन्दा स्थिर सरकार इतिहासमा कहिले बन्ला ?

राजनीति भनेपछि हुरुक्कै हुने हामी नेपालीले अझै पनि नबुझेकै हौँ त– विकासको बाधा अस्थिर सरकार होइन, नेताहरुको गैरजिम्मेवार र अकर्मण्य–व्यभिचारी स्वभाव हो भनेर ? कृपया, अबचाहिँ बुझौँ है । अहिले पनि नबुझे कहिले बुझ्ने ? अब पनि झुक्किए, कहिले सचेत हुने ?

पुनः ओली–माधवको बुधबार मेरियट भेटतर्फै लागौँ । मेरियटमै रहेका एमालेका एकजना प्रभावशाली नेताले अनौपचारिक कुराकानीमा भने– ‘दुई वरिष्ठ नेताबीच लामो समयपछि देखादेख भयो ।’ यहीँनेर हेक्का राख्नुपर्ने महत्वपूर्ण प्रश्न उब्जन्छ । तिनको देखादेख वा वार्तालाप वा मेलमिलापले हामी जनताको जीवनमा के तात्विक फरक पर्छ ? ती नमिल्दा हाम्रो के गुमेको थियो र मिल्दा के प्राप्त हुन्छ हामीलाई ? यी प्रश्नको जवाफ अब हामीले गर्ने दैनिकजसो कुराकानीमा खोज्न सक्नुपर्छ । अन्यथा, हामीलाई राजनीतिले दिने भनेको उही दुई नेताबीचको ‘देखादेख’ मात्रै हो ।

ओलीको यो कार्यकालले उनको राजनीतिक चिन्तनलाई ‘खुला किताब’जस्तो, सबैले सहजै बुझ्न सक्ने बनाइदिएको छ । उनी आफूबाहेक अरु सबैलाई ‘अस्थिर’ राजनीतिका बाहक ठान्छन् । उनी आफूलाई सबैभन्दा जनप्रिय र अरु सबै अलोकप्रिय हुन् भन्ने मान्छन् । यो सत्ता, यो प्रधानमन्त्रीको कुर्सी मेरा लागि मात्रै बनेको हो भन्ने ठान्छन् । मैले जुनसुकै समय, जुनसुकै स्थान र जोसुकैसँग जे बोल्छु, त्यही पार्टीलाइन हो भन्ने उनको ठहर छ । मेरो कार्यकालमा देशमा जे जति विकास भयो, त्यति कहिल्यै भएको थिएन भन्ने ठोकुवा गर्छन् । अर्थात्, उनी आफूलाई ‘सुपरम्यान’ ठान्छन् ।

देश र जनताप्रति समर्पित देखाउन कहिलेकाहीँ भावुक बन्दै गीत–कविता पनि कोरिदिन्छन् ! के मात्रै गर्दैनन् ओली ? डाक्टरले जसरी कोरोनाको उपचार बताउँछन्, बुद्धिजीवीलाई बुद्धि नै दिन्छन् । सबथोक गर्छन् । तर, एकथोक कहिल्यै गर्दैनन्, त्यो हो– ‘जनप्रेम’ !

जनप्रेम नगर्ने यी स्वघोषित सुपरम्यानले कसैगरी पनि भड्किएको आत्मावाला माधवकुमार नेपाललाई आफ्ना पक्षमा ल्याउनेछन् । अनेक प्रलोभन देखाउनेछन्– अब हुने निर्वाचनपछि ‘तपाईं नै हो प्रधानमन्त्री’ भनिदिनेछन् । त्यतिले नमाने ‘छिट्टै तपाईं पार्टी अध्यक्ष’ भनिदिनेछन् । लोभलालचको गर्तबाट कहिल्यै माथि नउठेका माधवलाई ओलीको वाणीले मख्ख पार्नेछ ।

अनि हामी हरपल राजनीतिक कुरा गरेर नथाक्ने, तर राजनीति पटक्कै नबुझ्ने जनता पुनः उही ‘कथित’ स्थिर सरकारको खोजीमा मतदान गर्नेछौँ, हो ? या राजनीति बुझेर बलियो विकल्पको खोजीमा लाग्नेछौँ ? यो प्रश्नको उत्तर पाउन अब धेरै समय कुर्नुपर्ने छैन ।