दोस्रो तहका नेताहरुबीच लगातार अनौपचारिक वार्ता र कार्यदल व्यूँताएर तीन दिन छलफलपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

तर दुबै नेता आ-आफ्नो अडानमा रहेका कारण कुनै सहमति हुन नसकेको स्रोतले बताएको छ ।

मेरियट होटलमा भएको भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग खोजेपछि नेता नेपाल सहमत नभएका हुन् ।

जबकी अनौपचारिक वार्ता र कार्यदलमा भएको छलफलहरुमा ओली पक्षका नेताहरुले दुई नेताबीच भेट भएपछि जे गरेर भएपनि सहमति गर्छौं भनेका थिए ।

१८ असारमा केन्द्रीय कमिटीको बैठक राखेर सोमबार साँझसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका ओलीले भोलिपल्ट अर्को घोषणा गरे, फैसला आउँदासम्म हस्ताक्षर कायमै राख्नेहरु एमाले रहन्नन् ।

तर भोलिपल्टै सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवासमा पुगे र संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव राखे ।

वरिष्ठ नेता नेपाल त्यसमा सहमत भए र कार्यदलमार्फत संयुक्त वक्तव्यको मस्यौदा ल्याउन आग्रह गरे ।

तर ओली पक्षका नेताहरुले कार्यदल निश्क्रिय रहेकाले त्यो ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए । त्यसमा सहमति नजुटेपछि एमाले अध्यक्ष ओली कार्यदल ब्यूँताउन सफल भयो । सोमबार साँझ बैठक बस्यो ।

लगातार तेस्रो दिन बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सचिव गोकर्ण विष्टका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको थियो ।

पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा धेरै नजिक पुगेको छ ।

कार्यदलका अर्का एक सदस्यले बताएअनुसार ओली पक्षका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट भएपछि विवादित विषयहरु मिल्ने दाबी गरेका थिए ।

उनीहरुले पावर शेयरिङ लगायतका विषयमा सहमति जुट्नसक्ने सन्देश ओली पक्षका नेताहरुले नेता नेपालसम्म पुर्‍याएका थिए ।

अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच बुधबार टेलिफोन सम्वाद समेत भएपछि मेयरिटको भेट भयो । तर भेटका क्रममा अध्यक्ष ओलीले सहमतिका लागि न कुनै प्रस्ताव राखे, न कार्यदलमा नमिलेका विषयमा छलफल नै गर्न चाहे ।

उनले हस्ताक्षर फिर्ता लिन आग्रह मात्र गरेको नेता नेपाल निकट स्रोतले बतायो ।

‘उहाँले निःशर्त सहयोग गनुपर्छ जस्तो कुरा गर्नुभयो । हामीले उठाउँदै आएका मुद्दाहरुमा सहमतिको कुरै गर्नु भएन । त्यसो भएपछि माधव नेपालले पनि मान्नु भएन’, नेपाल निकट स्रोतले अनलाइनखबरलाई भन्यो ।

कार्यदलका एक सदस्यले पनि ओली पक्षका नेताहरुले दुई नेता भेटेपछि सहमति हुन्छ भनेको तर, मेरियटको भेटमा त्यसरी छलफल नै नभएको बताए ।

‘हामीले २ जेठ, सर्वोच्चको मुद्दामा केन्द्रीत भएर कुरा उठाएका थियौं र सहमति नजिक पनि पुगेका थियौं’ ती सदस्य भन्छन्, ‘उहाँहरुले दुई नेता भेटौं, जे गरेर भएपनि सहमति हुन्छ भन्नु भएको थियो । भेट पनि भयो, तर सहमति जुटेन ।’

यद्यपि सहमतिको प्रयास जारी रहने नेताहरुले बताएका छन् । मेरियट होटलमा उपस्थित कार्यदल सदस्य सुरेन्द्र पाण्डेले भने, ‘उहाँहरु सकारात्मक ढंगले कुराकानी गरेर हिँड्नु भएको छ । भोलि कार्यदल बस्छौं र सबै टुंग्याउँछौं ।’