नेपालको हालसम्मकै ठूलो क्षमताको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो चरणको उद्घाटन भएसँगै आयोजनाले ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको बताइएको छ ।

स्वदेशी पुँजी र स्वदेशी व्यवस्थापनमा सम्पन्न गरिएको यो ठूलो आयोजना देशको ऊर्जा आत्मनिर्भरतामा कोसेढुङ्गो भएको बताइन्छ । तर यो आयोजनाले निकै धेरै ढिलाइ तथा खर्च वृद्धि बेहोर्नुपरेको थियो ।

सुरुमा ५ वर्षमा सकिने लक्ष्य राखिए पनि त्यो सकिँदासम्म करिब ११ वर्ष बित्यो भने ३५ अर्ब रुपैयाँमा सकिने भनिएकोमा सकिँदासम्म करिब ८४ अर्ब पुग्ने देखिएको बताइएको छ ।

विगतमा उक्त आयोजनाको व्यवस्थापन समेत गरेका र निकटबाट नियालेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ त्यस्तो हुनुमा परियोजना सम्पन्न हुन लागेको समय र वित्तीय व्यवस्थापनसम्बन्धी विषयमा सुरुवाती चरणमै भएका कमजोरी नै मुख्य कारक रहेको सङ्केत गरेका छन् ।

किन बढ्यो समय ?
केही व्यवस्थापकीय कारण परियोजना निर्माणमा ढिलाइ भएको भए पनि काम गर्दै गर्दा डिजाइनमा भएको परिवर्तनले भने निर्माण सम्पन्न गर्ने विषयमा खास प्रभाव पारेको घिसिङको बुझाइ छ ।

परियोजनाको हेडरेसु टनेल (सुरुङ) सुरुमा इनक्लाइन्ड (छड्के) हुने भन्ने तय भएको भए पनि परीक्षण गरिएपछि त्यसलाई होराइजन्टलु (तेर्सो) बनाएर अनि थप भर्टीकल (ठाडो) टनेलहरू पनि बनाउनु परेको र त्यसले गर्दा परियोजनासम्म पुग्ने बाटो देखि अन्य विभिन्न कुराहरूमा व्यापक फेरबदल गर्नुपरेको अनुभव कुलमान सुनाउँछन्।

त्यसले गर्दा यसको डिजाइन फाइनल (सम्पन्न) गर्न नै ६ – ७ महिना लाग्यो, उनले भने। त्यसले नै डेढ वर्ष ढिलाइ भएको घिसिङ बताउँछन् ।

भूकम्प पनि कारक
परियोजनाको समय सीमापछि धकेलिनुमा २०७२ सालको भूकम्प पनि कारक रहेको अधिकारीहरूले बताउँदै आएका छन् ।

घिसिङ पनि निकै समय लगाएर गरिएको डिजाइनु परिवर्तनपछि गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प अनि त्यसपछि दोलखामा केन्द्रविन्दु बनाएको वैशाख २९ गतेको भूकम्पले आयोजनामा व्यापक क्षति पुर्‍याएको र त्यसपछि परियोजना पुनः सुरु गर्न निकै समय लागेको सुनाउँछन् ।

परकम्पनका कारण काम सुरु गर्न सक्ने सम्भावना नै भएन । करिब २० महिना पूर्ण रूपमा काम बन्द भयो, उनले भने। परियोजनामा पुग्ने बाटो भत्किएपछि करिब ३५० मिटरको नयाँ टनेल मार्ग नै बनाउनुपरेको उनी बताउँछन् ।

त्यस्तै विभिन्न समयमा आएको बाढीदेखि भूकम्प र त्यसको केही महिनापछि भारतले लगाएको नाकाबन्दी र पछिल्लो चरणमा कोभिड महामारी लगायतले कामको परियोजना निर्माणको रफ्तारमा निकै समस्या पारेको घिसिङ बताउँछन्।

त्यस्तै परियोजनाका चार ठेकेदार मध्य एउटाको कार्यसम्पादन निकै कमजोर भएकाले उसलाई जिम्मेवारी दिइएको केही काम त्रिपक्षीय सम्झौता गरेर अर्को ठेकेदारलाई दिनुपरेको उनी स्मरण गर्छन् ।

लागत किन बढ्यो ?
निर्माण अवधि बढेका कारण त्यस अवधिको ब्याजमा निकै प्रभाव परेको घिसिङ बताउँछन् ।

निर्माण अवधिको लागत भनेको त निर्माण अवधिको ब्याज पनि हो। निर्माण अवधिमा ब्याज लिइएको हुन्छ र त्यसको ब्याज १२ प्रतिशतले तीन तीन महिनामा चक्रवृत्ति ब्याज गर्दै जाँदा करिब १३ देखि १३।५ प्रतिशत पर्थ्यो, उनले भने।

त्यसले गर्दा आयोजनाको अवधि थप नहुँदा ब्याज १५ अर्ब हुन्थ्यो भने अवधि बढ्नासाथ ब्याजमात्रै ३३ अर्बको हाराहारीमा पुगेको उनले बताए । लागतमा सबभन्दा धेरै प्रभाव यसैले पार्‍यो, उनले भने । त्यस्तै प्राधिकरणले सुरुमा अनुमान निकाल्दा १ अमेरिकी डलरको मूल्य ८० नेपाली रुपैयाँको हाराहारीमा थियो जुन हाल १२० को हाराहारीमा छ ।

बीचबीचमा भएका उतारचढावको हिसाब निकाल्दा करिब ८ देखि ९ अर्ब रुपैयाँ बढी तिर्नुपरेकोुु उनको बुझाइ छ । किनभने ठेकेदारलाई उपकरणको मूल्य डलरमै तिर्नुपर्छ । र, सुरुमा जुन रेट (मूल्य) तय गरिएको हुन्छ त्यही नै दिनुपर्ने हुन्छ, उनले भने ।