चितवन । सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन बढ्न थालेपछि पूर्वी चितवनमा कर्फ्यु जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मंगलबार साँझ एक सूचना जारी गर्दै साँझ ७:३० बजेदेखि भोलि बेलुका ७:३० सम्मका लागि कर्फ्यु जारी गरिएको हो ।

भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । केहि घण्टादेखि भण्डारीको गृहनगरअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया पाँच सय मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन् ।

प्रशासन संवेदनशील नभएको भन्दै स्थानीयले मंगलबार पनि प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले सुजिताको हत्या भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।