काठमाडौ । निषेधाज्ञा खुकुलो बनाएर सर्वसाधारणको जनजिवन सहज बनाइएको भएपनि काठमाडौ उपत्यकामा महामारीको खतरा भने बढ्दै गएको छ । नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । निको भएर अस्पताल छोड्ने भन्दा संक्रमित हुनेको संख्या बढेको छ । निषेधाज्ञा खुकुलो बनाएर सर्वसाधारणको चहल पहल बढे लगत्तै संक्रमितको संख्या पनि बढ्न थालेको हो ।

काठमाडौ उपत्यकाका सरकारी अस्पतालहरुमा पनि संक्रमितले बेड भरिन थालेका छन् । काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीको संख्या फेरि बढ्न थालेको चिकित्सकहरुले बताएका छन् त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा। सन्तकुमार दासका अनुसार पछिल्लो पाँच दिनयता अस्पतालमा उपचार गराउन आउने संक्रमितको संख्या बढ्दो रहेको बताए । उनका अनुसार आइसियुमा आउने संक्रमितको संख्या बढेको छ ।

पाटन अस्पतालमा पनि आइसियु र साधारण वेड संक्रमितले भरिएका छन् । अहिले आईसीयूमा २५, भेन्टिलेटरमा १३ जनासहित १३० जना संक्रमित उपचाररत छन् ।’ वीर अस्पतालमा पनि नीजि अस्पतालवाट रेफर हुनेको संख्या बढेको त्यहाँका चिकित्सकहरुले बताएका छन् ।
वीर अस्पतालका कोभिड फोकल पर्सन डा। अच्युत कार्कीका अनुसार अहिले ८० जना संक्रमित उपचारका क्रममा छन् ।

अन्य नीजि अस्पतालवाट रेफर भएर आउनेको संख्या केही दिन यता बढेको छ । बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल,भक्तपुर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा पनि बढ्दै गएको संक्रमितको संख्याले उपत्यकामा फेरी संक्रमण बढ्दै गएको संकेत गर्छ ।

लामो समय निको हुनेको संख्या बढी हुँदै आएका कारण सेवा खुकुलो बनाइएको थियो तर सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

मंगलबार २६३४ जनामा संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप २२११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।

यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार २६३ जनाले ज्यान गुमाइसकेका छन् । हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।