काठमाडौ । नेकपा एमाले भित्रको विवादका कारण माओवादी छोडेर एमालेमा प्रवेश गरेका नेताहरु समस्यामा परेका छन् । आफ्नो मुलपार्टी छोडेका कारण माओवादीले उनीहरुलाई सांसद पद समेत नरहनेगरी कारवाही गरेको छ भने एमाले भित्रकै विवादका कारण पनि राजनीतिक भविष्य अन्यौलमा परेको छ । जसका कारण माओवादी केन्द्र छोडेर एमालेमा आएका ४ नेताहरु अब आफ्नो सांसद पद जोगाउने कसरतमा लागेका छन् ।

उनीहरुले असंवैधानिक ढंगले प्रतिनिधिसभा सदस्यबाट हटाइएको दावी गर्दै प्रचण्ड विरुद्ध अदालत जाने योजना बनाएका छन् । प्रतिनिधिसभामा माओवादीबाट निर्वाचित ४ निवर्तमान सांसद सर्वोच्च अदालत जाने योजनामा छन् । उनीहरुले कानुनी परामर्श थालेका छन् ।

माओवादी केन्द्र छाडेर एमालेतिर लागेपछि प्रतिनिधिसभा सदस्यहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारबाही गरेको हो । माओवादीको कारवाहीका कारण गुमेको सांसद पद जोगाउन सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनस्थापना गरे उनीहरु आफ्नो रिट लिएर जाने पुरा तयारीका साथ नेताहरु बसेका छन् ।

आफूहरुलाई कारबाहीको सिफारिस गर्ने माओवादीको कमिटी नै वैध नभएको दावी उनीहरुको छ । २०६९ सालमा हेटौंडा महाधिवेशन भए यता माओवादी केन्द्रको महाधिवेशनसमेत हुन सकेको छैन ।