जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसँग मिल्न सक्ने अवस्था नरहेको भन्दै प्रक्रियामा गएर विवाद टुंग्याउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगमा मंगलवार भएको जसपाका दुवै पक्षको छलफलमा उपेन्द्र पक्षले मिल्न सकिने अवस्था नरहेको बताएको थियो ‘मिल्ने अवस्था रहेन, हामी मिल्न सकेनौं, प्रक्रियामा जानुस् भनेर आयोगलाई भन्यौं,’ आयोगमा भएको छलफलपछि उपेन्द्र पक्षीय नेता महेन्द्रराय यादवले भने, ‘आयोगले ७ दिनको समय दिएको छ, त्यसपछि आठौं दिनमा हामीलाई बोलाउँछ ।’

महन्थ पक्षीय नेता अनिल झाले पनि आयोगमा उपेन्द्र यादवले मिल्नसक्ने अवस्था नरहेको बताएको जानकारी दिए । आयोगको छलफलमा अध्यक्ष यादव, अर्का अध्यक्ष महन्थ ठाकुर लगायत दुवै तर्फका शीर्ष नेताहरू सहभागी भएका थिए ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरूमाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएको थियो । दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

२०७७ वैशाख १२ गते तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उपेन्द्र पक्षले हस्ताक्षर गरेपछि जसपा विभाजनउन्मुख भएको थियो ।