ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित दोभान बजारका आगलागी पीडितलाई २१ लाख रुपैयाँ बढी सहयोग प्रदान गरिएको छ ।

काठमाडौमा संकलन भएको २१ लाख ४ हजार रुपैयाँ पूर्वमन्त्री योगेश भट्टराईले सोमवार मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङवाङलाई प्रदान गरे ।

ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाज र भट्टराईको पहलमा उक्त सहयोग संकलन गरिएको थियो ।  सहयोग संकलन गर्न योगेश भट्टराईको संयोजकत्वमा ‘दोभान बजार अग्नि पीडित राहत सहयोग समन्वय समिति, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं’गठन गरिएको थियो ।

सहयोग अभियानमा दोभान एकता समाज काठमाडौँ, ओलाङचुङ समाज कल्याण परिवार, ताप्लेजुङ गुरुङ समाज काठमाडौँ, अमर सेनेहाङ (अमेरिका), मिस मंगोल सिभिरा लामा, दावा शेर्पा र राजु साम्बा (ईजरायल) लगायतले सहयोग गरेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए ।

ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले यसअघि पनि पीडितलाई व्यक्तिगत रुपमा ५ लाख रुपैयाँ प्रदान गरेका थिए । उक्त सहयोग रकम क्षतिको वर्गिकरणका आधारमा पीडितलाई प्रदान गरिने पालिका अध्यक्ष चोङवाङले बताए ।