काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टाइनमा राख्नका लागि एकससय १० होटललाई अनुमति दिएको छ ।

पर्यटन विभागमा दर्ता भउका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरी कूल एकसय १० होटललाई क्वारेन्टाइन बनाउनका लागि अनुमति दिएको हो ।

विभागको होटल शाखाले आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटेलको सूची बुझाएको हो । नेपाल सरकारले जारी गरेको पछिल्लो विदेशबाट नेपाल आगमन हुने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ मा होटलमा क्वारेन्टाइन व्यवस्थापन गर्ने जिम्मा पर्यटन बोर्डलाई दिएको छ ।

विभागका अनुसार यसरी तोकिएका होटलमा पाँचतारे होटेल र रिर्सोटदेखि पर्यटक स्तरीय होटेल समेत छन् । यसअघि ठमेल क्षेत्रमा घना बस्ती भएको भन्दै क्वारेन्टाइन नबनाउने भनिएकोमा व्यवसायीको विरोधपछि ठमेल क्षेत्रका होटेललाई समेत सामेल गरिएको छ विभागको तथ्यांक अनुसार हायात रिजेन्सी, द सोल्टी काठमाडौं, काठमाडौं मेरियट होटेल र र्‍याडिसन गरिचार वटा पाँचतारे होटेलले क्वारेन्टाइन बस्ने यात्रु राख्ने छन् । गोकर्ण फरेष्ट रिर्सोट, क्लब हिमालय (नगरकोट), समिट होटेल र एयरर्पोट होटेलसमेत यो सूचीमा छन् ।

सरकारले निश्चित गन्तव्य तोकेर हवाई यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टाइन बस्नुपर्छ । खाडी मुलुकबाट आउने यात्रुले होटल बुकिङ नगरे पनि नेपाल आउन दिइनेछ ।

तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्छ । वैदेशिक रोजगारीबाट फर्केपछि ५ दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा घर–गन्तव्यमा जान पाउँछन् ।