काठमाडौ । विभिन्न जिल्लामा नागरिकता सम्बन्धी समस्या देखिने गरेका छन् । नक्कली कागजात पेश गरेर नागरिकता लिने गरेका उदाहरण धेरै जिल्लामा देखिएका छन् । दाङका एक जना व्यक्तिले आफ्नो निधन भइसकेका छोराको नाममा ज्वाइँलाई नेपाली नागरिकता दिलाएको खुलेको छ । हाल ति ज्वाइं विदेशमा छन् । छोरीको आग्रहमा बुवाले ज्वाईलाई आफ्ना निधन भइसकको छोराको नाममा नागरिकता दिलाइदिएका थिए ।

प्रहरीले ज्वाईलाई नक्कली छोरा बनाउने ससुरा र छोरीलाई पक्राउ गरेको छ । ज्वाईलाई छोरा हुन् भन्दै सिफारिस दिने वडाध्यक्ष पनि कारवाहीमा तानिएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ का भीमबहादुर कामीले ज्वाइँ अर्जुन विकलाई छोरा बनाएर नागरिकता दिलाएका हुन्। अहिले भीमबहादुर र छोरी शुसिलालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो । इलाका प्रशासन कार्यालय लमहीले अर्जुनको नाममा २०७५ असोज ४ गते नागरिकता जारी गरेको थियो। नागरिकता जारी गर्ने इलाका प्रशासन प्रमुख प्रेम खवास हुन्। नागरिकतामा उनकै हस्ताक्षर छ।

भीमबहादुरले आफ्ना निधन भइसकेका छोरा लिलाराम विकको नामबाट ज्वाइँलाई नागरिकता दिलाएको अनुसन्धानबाट खुले पछि उनी पक्राउ परेका छन् । उनको १५ वर्षको उमेरमै निधन भएको थियो। निधन भइसकेका लिलारामको जन्मदर्ता प्रयोग गरेर भीमबहादुरले ज्वाइँ अर्जुनलाई नागरिकता दिलाएको खुलेको छ।

कीर्ते काजगात तयार पारेर मृत्यु भइसकेका व्यक्तिका नाममा नागरिकता दिलाउन सिफारिस गरेको भन्दै राजुपर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षीय वडाध्यक्ष भीमबहादुर खड्का पनि कारवाहीमा पर्ने भएका छन् । उनलाई पनि प्रहरीले अनुसन्धानको लागि बोलाएको छ । अर्जुनको वास्तविक घर कहाँ भन्ने पनि खुलेको छैन।