प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा गरेको भाषणले खैलाबैला मच्चिएको छ ।

नेकपा एमाले ढालेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर गरेका एमाले नेताहरु धमाधम हस्ताक्षर फिर्ता लिने तयारीमा लागेका हुन् ।

बालुवाटारमा शनिबार एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

बैठकम नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने भन्दै उद्घोष गरेका छन् ।

प्रधानमन्त्री ओलीको यो उद्घोषसँगै नेताहरु हस्ताक्षर फिर्ता लिने तयारीमा लागेका हुन् ।

उसै पनि उता विपक्षी गुटका नेता माधवकुमार नेपालसँग समेत प्रधानमन्त्री ओलीको कुरा सकारात्मक हुँदै गएको छ ।

यसबीच प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ,, ती पार्टी कार्यकर्ता होइनन् ।’

फैसला आउँदा कित्ता छुट्टिसक्ने उनले बताएका छन् ।

प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जना पनि छन् ।