काठमाडौ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकै ठूलो योजनामा रहेको संकेत गरेका छन् । उनले सर्वोच्च अदालतको निर्णय आएको भोलीपल्टै कुनै असाधारण निर्णय लिने बताएका छन् । उनले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अबस्थामा बस्न निर्देशन समेत दिएका छन्।

बालुवाटारमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन् । उनको यो अभिब्यक्तिले सर्वोच्चवाट संसद पुनस्र्थापना हुनसक्ने आँकलन उनले गरेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । उनले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताए।

‘हाम्रो पार्टीका विरुद्ध मोर्चा बनाएरै लागेका छन्, तल्लो तहसम्मै पुत्ला दहन भइरहेको छ,’ ओलीले भने, ‘त्यसैले सिटी फुक्ने वित्तिकै आन्दोलनमा दौडि हाल्नुपर्छ तपाइँहरु ‘अन योर मार्क, गेट सेट, गो’ अन्तर्गत गेट सेटको अबस्थामा बस्नुस्।’

उनले सर्वोच्चको फैसला आएको भोलिपल्ट ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराएका छन्। उनले कस्तो असाधारण निर्णय भन्ने वारे भने खुलस्त नबताएको एक नेताले जानकारी दिए ।