काठमाडौ । नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेका बेलामा केही दोस्रो तहका नेता दुई मुख्य नेताहरुलाई सहमतिमा ल्याउने प्रयासमा छन् । आइतवार विहान ओली पक्षका केही नेता माधवकुमार नेपाललाई फकाउन उनकै निवास कोटेश्वर पुगेका थिए ।

ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेलका साथै नेताद्वय सुवास नेम्वाङ र शंकर पोखरेल आइतबार विहानै नेता नेपाललाई भेट्न कोटेश्वर स्थित उनकै निवासमा पुगेका थिए । नेपाल पक्षका नेता घनश्याम भुषाललाई लिएर पुगेका नेताहरुले नेपालसंग छलफल गरेका छन् ।

एक थरी नेता नेपाललाई फकाउन कोटेश्वरमै पुगेका बेला नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भने वरिष्ठ नेता माधव नेपालले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै सामाजिक सञ्जाल मार्फत कटाक्ष गरेका छन् । विपक्षी गठबन्धनमा पनि लागिरहने र एमाले एकता पनि भनिरहने नेता नेपालको प्रवृत्ति देखेर आफूलाई अचम्म लागिरहेको टिप्पणी महासचिव पोखरेलले गरेका हुन्।

‘पार्टी नेतृतवविरुद्ध गठबन्धनको वकालत गर्ने– त्यसमा ‘निष्ठापूर्ण प्रतिबद्धता’ जनाउने, आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने, अनि पार्टी एकताको गीत गाइरहने,’ आइतबार अपराह्न महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हत्तेरिका कसरी सकेको ?’