काठमाडौं, २० असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष ओली र नेपाल एकापसमा रिसाएको र त्यो रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् ।

आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको गौतमले बताए । सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने उनको दाबी छ ।

‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुई–तीनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर, केपी एकातिर हुनुभयो ।

पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु,’उनले भने, ‘मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ ।

हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ । म त्यसका लागि प्रयत्नशील छु । ’