पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङखोलामा पहिरोले पाँच गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ।

आज पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङखोलामा पहिरो गएको हो।

मुग्लिनबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरो खस्दा सहचालक चितवनको भण्डाराका वीरबल प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, उनको ट्रकमै च्यापिएर ज्यान गएको हो।

ट्रकमै सवार सुदीप प्रजा घाइते भएका छन्। चालक भने सकुशल छन्।

त्यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले पुरिँदा पाँच गाडीमा क्षति पुगेको छ। दुई वटा बोलेरो, १० चक्के एक गाडी, टिप्पर र इन्डियन कन्टेनर पहिरोमा पुरिएका छन्।

पहिरोले क्षति पुर्‍याएकामध्ये ना ८ ख ४५४० नम्बरको ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

पहिरो गएपछि अहिले सडक अवरुद्ध छ। पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।