नेकपा एमालेको १५ वर्ष नेतृत्व गरेका नेता माधव नेपाल अन्ततः राजनीतिक रुपमा पतनको डिलमा पुगेका छन् ।

भीम रावलबाहेक उनीसँग अब कुनै नेता कार्यकर्ता बाँकी छैनन् ।

तैपनि, एमालेमा नफर्किने र केपी शर्मा ओलीलाई अध्यक्ष मान्न नसकिने दाबा गरिरहेका छन् ।

माधव नेपालका निम्ति आफ्नो राजनीतिक भविष्यसमेत दाउमा राखेर सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सोमप्रसाद पाण्डेलगायत नेताले अझै एकता र सहमतिको प्रयास गरिरहेका छन् ।

उनीहरुकै आग्रहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ०७५ जेठ २ को अवस्थामा पार्टी संरचनालाई फर्काउने, कारवाही फिर्ता लिने र भविष्यमा कुनै पनि नेता कार्यकर्ताप्रति विभेदपूर्ण व्यवहार नगर्ने भन्दै ६ बुँदे घोषणा नै गरेका थिए ।

ओलीको त्यस लचकतालाई नेपालले कमजोरीका रुपमा लिएर रणनीतिक रुपमा उपयोग गर्न खोजे ।

अहिले पनि नेपालको दाउ के रहेको छ भने ओलीलाई वार्तामा अल्मल्याउने, अदालतबाट संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्थापित गराउने अनि ओली कमजोर र सत्ताच्युत भएपछि मौका छोपी पार्टी कब्जा गर्ने ।

ओलीले जतिसक्दो चाँडो पार्टी एकता गरी दुर्घटना टार्न खोजिरहेका छन् ।

अरु एकतापक्षधर नेता कार्यकर्ताको प्रयास पनि दुर्घटनाबाट जोगाउनेमै केन्द्रित छ ।

तर, नेपाल ओली अध्यक्ष रहेको पार्टीमा रहन पटक्कै तयार छैनन् ।

नवौँ महाधिवेशनमा झीनो मतले अध्यक्षमा पराजित नेपाललाई कार्यकर्ताले लोकतान्त्रिक प्रक्रियाका माध्यमबाट गरेको फैसला स्वीकार गर्न मुस्किल भइरहेको छ ।
नेपाल अहिले कुण्ठा र प्रतिशोधका शिकार बनेका छन् ।

त्यसैले उनी ओलीको नाम लिन पनि चाहँदैनन् ।
ओलीको भीमकाय व्यक्तित्वप्रति झनै त्रसित छन् ।

भारतीय थिचोमिचो र अतिक्रमणविरुद्ध शिर ठाडो पारेर स्पष्ट अडान लिन सक्ने ओलीको व्यक्तित्वबाट नेपाल त्यसै पनि त्राहिमाम छन् ।
त्यसैले पनि नेपालले ओली र एमाले पतन नभएसम्म विश्राम नलिने कसम खाएको देखिन्छ ।

यसकारण उनी जसरी हुन्छ एकता भाँड्ने, वार्ता बिथोल्ने र ओलीसँग लचक नेताहरुलाई अनेक तरहले आफूसँग बाँधेर राख्ने कोसिसमा छन् ।

नेपालका धेरै नेता कार्यकर्ताले उनको साथ छाडिसकेका छन् ।

अझै पनि ठूलो संख्याको दलबल नेपाललाई छाडेर मूल धारमा समाहित हुँदैछन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा विघटनको फैसला आउँदासम्म नेपालसँग भीम रावल पनि नरहने सम्भावना प्रबल छ ।

त्यसैले अदालतबाट जतिसक्दो चाँडो फैसला होस् भन्ने उनले चाहेका छन् ।

एमाले पृष्ठभूमिका र स्वतन्त्र विद्यार्थी युनियनमा एमाले कार्यकर्ता भएर काम गरेका केही न्यायाधीश नेपालको पक्षबाट दौडधूप गरिरहेका छन् ।

त्यसैले अहिलेको वार्ता र एकता प्रक्रियालाई फैसलासम्म लम्ब्याउने र ओलीलाई सत्ताच्युत गराउने दाउ नेपालको रहेको छ ।

बरु पार्टी नरहे नरहोस्, तर ओली रहनुहुँदैन भन्ने एकसूत्रीय कसम नेपालले खाएको देखिन्छ ।

त्यसैले आफ्नो राजनीतिक पतनसँगै एमालेलाई पनि खरानी बनाएरै छाड्ने अठोटका साथ नेपाल सक्रिय छन् ।

तर, नेपालले अर्को महापाप के गर्दै छन् भने एमालेलाई सिध्याएसँगै उनको पछाडि लागेका कयौँ सम्भावनायुक्त युवा नेताको भविष्य समेत संकटमा पार्दैछन् ।

अहिले एमालेभित्रको मनोदशा हेर्दा के देखिन्छ भने जुन नेताको भविष्य छैन, उसले पार्टीको भविष्य पनि सिध्याउन खोजेका छन् । जुन नेताको राजनीतिक भविष्य सम्भावनायुक्त, उसले पार्टी एकता पनि जोगाउन चाहेको देखिन्छ ।

यो विडम्बनायुक्त अवस्थामा पुर्याउने मुख्य खलनायक माधव नेपाल नै हुन् ।