निरन्तरको वर्षाका कारण चितवनका विभिन्न स्थानमा बाढी आएको छ । पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् ।

राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पसेको चितवन प्रहरीले जनाएको छ । यस्तै बर्षाले धुसरी पुल पनि भाँचिएको छ ।

लदरी खोलामा आएको बाढीले चितवनको रत्ननगर र खैरहनी जोड्ने पक्की पुल भाँचिएको हो । पुल भाँचिएपछि सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।

यस्तै बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन् ।रत्ननगर नगरपालिका–८ रमाइलोडाँडामा पनि बाढी पसेपछि २० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै खैरहनी-८ पर्सामा रहेका डेजी स्कुलमा पनि बाढी पसेको छ ।त्यस्तै निरन्तरको बर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ ।

१६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ