वाग्मती प्रदेशकै नम्बर प्लेटमा २४ लटको क्रेटा बिक्रीमा। प्रचलित मूल्य ७० लाख तर ४५ लाखमै पाइने भएपछि सबैको ध्यान जानु स्वभाविक हो । तर सस्तोमा पाएँ भन्दैमा केही नबुझि गाडी किन्नेहरुका लागि भने मंगलवार प्रहरीले झट्का लाग्ने समाचार थियो ।

नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गर्यो । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली

कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरे पछि महंगो गाडी पनि यति सस्तोमा किन पाइएको होला भन्ने कुराको अनुमान लगाउन पक्कै कठिन भएन होला ।

भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको प्रहरी अनुसन्धानवाट खुलेको हो ।

त्यसरी सबै कागजात समेत नक्कली बनाएर भारतवाट चोरी गरेका गाडी नेपालमा बिक्रि गर्ने गरेको आधारमा ४ जना पक्राउ परेका हुन् । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा लमजुङ घर भई सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा शान्तिनगर बस्ने, मोरङका रेवतीरमण निरौला छन् । निरौलाको धन्दा देखेर त प्रहरी पनि छक्क पर्यो । उनले सबै सरकारी कागजात नक्कली बनाउने कारखाना नै खोलेका रहेछन् ।

निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, झोला, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दियो ।

पैसा तिरेपछि उनले सरकारी कागजात कीर्ते गरेर जे पनि दुरुस्तै बनाइदिने गरेका छन् निरौलाले । फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, नागरिकता, ड्राइभिङ लाइसेन्स जम्मै बनाइदिने गरेको खुलेको छ ।

प्रहरीले निरौलाको फ्ल्याटबाट ५ बोरा कीर्ते कागजात, १९१ थान विभिन्न सरकारी कार्यालयका छापका साथै विभिन्न सरकारी निकाय तथा शैक्षिक संस्थाको छाप आदि बरामद गरेको छ ।