नेपालमा सन् २०२१ मा खोप आउन सम्भावना न्युन भएको छ । तीन अमेरिकी खोप उत्पादक कम्पनीले यो वर्ष खोप दिन नसक्ने जवाफ नेपाललाई दिएका छन् ।

वासिङ्टनस्थित नेपाली नियोगले विज्ञप्ति जारी गर्दै जोन्सन एन्ड जोन्सन, मोर्डना र नोभाभ्याक्सले नेपाललाई सन् २०२१ मा खोप उपलब्ध गराउन नसक्ने जनाएको हो ।

नेपालले जोन्सन एन्ड जोन्सनबाट ५० लाख डोज, मोर्डनाबाट २० लाख डोज खोप खरिदका लागि ती खोप कम्पनीलाई आग्रह गरेको थियो । तर नेपालले गरेको आग्रहको जवाफ निराशा जगाउने आएको हो ।

जुन १७, २०२१ मा जोन्सन एन्ड जोन्सन र नेपालको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भएको भर्चुअल संवादमा सम्पनीले यो वर्ष खोप उपलब्ध गराउन नसक्ने जवाफ दिएको हो ।

विश्वव्यापी आपूर्ति श्रृंखलाको कारण आफूहरुले उक्त समयभित्र खोप आपूर्ति गर्न नसक्ने जवाफ दिएको नियोगको विज्ञप्तीमा पनि उल्लेख छ । राजदूत युवराज खतिवडाले खोपका लागि पहल गरेका थिए ।

अर्को अमेरिकी खोप मोर्डनाले पनि त्यस्तै जवाफ दिएको छ । अमेरिकाकै बाल्टिमोरस्थित खोप उत्पादक कम्पनी नोभाभ्याक्सले पनि तत्कालका लागि व्यवसायिकरुपमा खोप निर्यात गर्न नसक्ने जनाएको छ ।

यद्यपी, अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभ्याक्स संयन्त्रमार्फत नेपालसहितका अन्य मुलुकलाई खोप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

सोही खोप मध्य नेपालको भागमा कति पर्छ त्यसैमा नेपालले चित्त बुझाउनुपर्ने छ । बाइडेनले खोप दिने घोषणा गरेको भएपनि नेपालले कति डोज प्राप्त गर्नेछ भन्ने टुंगो चाहिँ नलागेको वासिङ्टन नियोगले जनाएको छ ।