काठमाडौं । जातिय विभेद गरेका कारण पक्राउ परेकी सरस्वती प्रधानलाई शिक्षा मन्त्रीले सरकारी गाडीमा लिफ्ट दिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको बताइएको छ ।

उनले शिक्षामन्त्री गोपालकृष्ण श्रेष्ठलाई तपाईले गल्ती गर्नुभयो भनेको कानुनमन्त्री लीलानाथ श्रेष्ठले बताएका छन् ।

जातिय विभेद गरेको अभियोगमा पक्राउ परेकी महिलालाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ आफै गाडी लिएर गएको र उनलाई छुटाएर गाडीमै ल्याएको विषयमा प्रधानमन्त्रीको धारणा आउनुपर्ने भन्दै सामाजिक सञ्जालमा आवाज उठेको थियो ।

प्रधानमन्त्री ओलीले आवेशमा आएर यस्तो काम नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी गराए । मंगलवार एक पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शिक्षामन्त्री श्रेष्ठको कामलाई ‘दुर्भाग्यपूर्ण’ समेत बताए ।

उनले भने, ‘गाडीमा चढाएर लैजानु दुर्भाग्यपूर्ण हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले हिजो मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है, यो ठीक भएन भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ ।’

रुपा सुनारलाई दलित भएकै कारण आफ्नो घरमा कोठा भाडा नदिएको भन्दै रुपाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो ।

तर नेवार समुदायको विरोध पछि उनलाई प्रहरीले हिरासत मुक्त गरेको थियो । रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।