काठमाडौं । नेकपा माओवादी केन्द्र रित्तिँदै गएको छ । २९ जनाले साथ छोडेपछि प्रचण्ड एक्लिएका छन् । हालसम्म १४ जनप्रतिनिधिसहित २९ जना निर्वाचित पदाधिकारीले माओवादी छाडेका हुन् । जसमा २ राष्ट्रियसभा सदस्य, ४ प्रतिनिधिसभा सदस्य, ९ जना प्रदेशसभा सदस्य रहेका छन् ।

त्यस्तै, २ नगरपालिका प्रमुख, पाँच उपप्रमुख, एक–एक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा ४ वडाध्यक्ष र एक नगर कार्यपालिकाका सदस्यले माओवादी केन्द्र परित्याग गरेका छन् । एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त भइसकेका छन् ।

निर्वाचन आयोगले १४ जनप्रतिनिधिको दल त्याग गरेको र उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ । पदमुक्त हुनेमा ७ जना रौटहटका छन् भने ४ जना कैलालीका छन् ।

रौतहट मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ । रीनाकुमारी एमाले नेता प्रभु साहकी पत्नी हुन् । प्रभु साह पनि माओवादी केन्द्र छाडेर एमालेमा गएकाले माओवादी केन्द्रले सांसद पद हटाएको थियो ।

रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नगरपालिकाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ । प्रमुख रीनाकुमारी र उपप्रमुख गौरीशंकर प्रसादको मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएको छ ।

महोत्तरी साम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ ।

सिरहा नगरपालिका नगर कार्यपालिका सदस्य सतमलीला दास ताती, ओखलढुंगा चम्पादेवी गाउँपालिका– ७ वडाध्यक्ष सुरेशकुमार थापा, कैलाली गौरीगंगा नगरपालिका–४ का वडाध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगपालिका–४ का वडाध्यक्ष पुरनसिंह बीसी पदमुक्त भएका छन् ।

यसअघि पनि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्य गरी झन्डै दुई दर्जन जनप्रतिनिधिले माओवादी केन्द्र परित्याग गरिसकेका छन् ।

राष्ट्रियसभाका सांसद रामबहादुर थापा र चन्द्रबहादुर खड्काले माओवादी छोडेका कारण पद गुमाएका छन्। थापा र खड्काको स्थानमा नयाँ निर्वाचन पनि भइसकेको छ। एमालेबाट उनीहरू दुवै निर्वाचन सहभागी भए पनि पराजित भएका छन् ।

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले माओवादी छोडेका छन् । सुदूरपश्चिमका झपडबहादुर बोहरा, कर्णाली प्रदेशका धर्मराज रेग्मी, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी, प्रदेश नम्बर दुईका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी शाह र मोहम्मद समीरको पनि सांसद पद गुमेको थियो।

प्रदेश नम्बर १ का टंक आङबुहाङले पनि माओवादी केन्द्र छोडेका छन्। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पद त्याग गरी उनीहरूको स्थान रिक्त भए पनि निर्वाचन भएको छैन । २३ जना माओवादी केन्द्र त्याग गरेकालाई एमाले केन्द्रीय सदस्य बनाइसकिएको छ ।